+

किसानले खेती गर्न छोडेपछि जडीबुटी प्रशोधन प्लान्ट प्रयोगविहीन

११ वैशाख, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–६ जुडा कसरौलका कृषकले जडीबुटी खेती गर्न छोडेपछि जडीबुटी प्रशोधन गर्न प्रयोग हुने प्लान्ट प्रयोगविहीन अवस्थामा पुगेको छ ।

यहाँका दुई सयभन्दा बढी बासिन्दाले लगाउँदै आएको क्यामामाइल, मेन्था र सिट्रलालगायत जडीबुटी खेती बजार अभावमा लगाउन छाड्दै जान थालेपछि जडीबुटी प्रशोधन प्लान्ट प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।

खेतमा लगाइएको जडीबुटी प्रशोधन गरी तेल निकाल्नका लागि प्लान्टको प्रयोग हुँदै आएको थियो ।

भारतको लखनउबाट ल्याइएका करिब रु १८ लाख मूल्य पर्ने तीनवटा प्लान्ट जडीबुटीको अभावमा प्रयोगविहीन अवस्थामा रहेको सुनदेवी उपभोक्ता समितिका पूर्व अध्यक्ष प्रतापसिं धामीले बताउनुभयो ।

उहाँका अनुसार तीन वर्षदेखि क्यामामाइलको प्रशोधित तेलको बजार मूल्य प्रतिकिलो रु ३० हजार रहेकोमा लगानीनै नउठ्ने गरी व्यापारीहरूले दुई वर्षदेखि रु १० हजार कायम गरेपछि जडीबुटी उत्पादनमा लागेका स्थानीय मर्कामा परेका छन् ।

जडीबुटी प्रशोधन गर्नमात्रै रु १२ हजार बढी लागत मूल्य पर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लागत मूल्यनै नउठ्ने भएपछि यहाँका जडीबुटी उत्पादकहरूले जडीबुटी खेती गर्न छाडेका हुन् ।”

यहाँका दुई सय परिवारले २१ बिघा बढी क्षेत्रफलमा जडीबुटी खेती गर्दै आएका थिए ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष नजिकैका यहाँका बासिन्दाले खेतवारीमा लगाएको अन्नबाली आरक्षमा संरक्षित जनावरले खाएर हैरानी पार्न थालेपछि विकल्पका रुपमा नौ वर्ष अघिदेखि जनावरले नखाने जडीबुटी खेती गर्न थालेका थिए ।

अन्नभन्दा बढी आम्दानी जडीबुटी खेतीले दिने भएकाले मौसमी रुपमा भारतमा मजदुरी गर्ने परिवारहरू जडीबुटी खेतीमा संलग्न भएका थिए । रासस

React to this post

Conversation

New Old Popular

Subscribe to our newsletter

Subscribe to Onlinekhabar English to get notified of exclusive news stories.