कांग्रेसबाट जाजरकोटमा चुनाव लडिरहेका राजीवविक्रम शाह राजनीतिक पृष्ठभूमिका व्यक्ति होइनन् । उनी राज खानदान निकट व्यक्ति हुन् । प्रधानमन्त्री पत्नी आरजु राणा र शाहबीच फुपू-भदाहाको नाता पर्छ ।
जाजरकोट शाहको जन्मथलो नभई पुर्ख्यौली थलो हो । उनको तीन पुस्ता काठमाडौंमै बसोबास गर्छ । शाह १६ वर्षको उमेरमा पुर्ख्यौली थलो जाजरकोट पुगेपछि त्यहाँको अवस्थाले उनलाई समाजसेवाका लागि प्रेरित गर्यो ।
विदेशबाट पढाइ सकेर नेपाल र्फकेका उनी दोस्रो जनआन्दोलनपछि जाजरकोटमा पुगे । त्यसलगत्तै जाजरकोटमै विभिन्न सामाजिक सेवामा सक्रिय भएका शाह कांग्रेस निकट भएपछि पहिलो संविधानसभा चुनावमा उनी कांग्रेसको समानुपातिक सूचीमा परेका थिए । तर, सांसद भएनन् ।
सांसद नभए पनि उनी जाजरकोटमा हुने सवारीसाधान दुर्घटना, झाडापखला, बाढीपहिरो लगायतका प्रकोपबाट पीडितहरुलाई साथ दिएपछि शाह चर्चामा आए ।
जाजरकोटमा शाहको लोकप्रियता बढेपछि उनलाई ०७० सालको दोस्रो संविधानसभामा कांग्रेसले जाजरकोट-२ बाट उम्मेदवार बनायो । शाह विजयी भए ।
शाह हाल नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि बाहेक अरु कुनै जिम्मेवारीमा छैनन् । तर, उनी पूर्वगृहमन्त्री शक्ति बस्नेतका बलिया प्रतिस्पर्धी हुन् ।